Thaha

Saturday 21 September - 4:53 pm NST

सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा द्वन्द्वकालिन  घटनाका बारेमा उजुरी आव्हान


काठमाडौं, १७ चैत । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन घटनाका बारेमा उजुरी आव्हान गरेको छ । आज सूचना सार्वजनिक गरेर आयोगले पीडित वा पीडितको तर्फबाट वैशाख ५ गतेदेखि असार २ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।  आयोगका सदस्य श्रीकृष्ण सुवेदीका अनुसार  उजुरीको फारम आयोगको कार्यालय बबरमहल काठमाडौं वा जिल्लामा रहेका स्थानीय शान्ति समितिको कार्यालयबाट निशुल्क पाईनेछ । आयोगको वेबसाइट टिआरसी  डट जिओभी डट एनपीबाट फारम डाउनलोड पनि गर्न सकिने आयोगले जनाएको छ । त्यसरी उजुरी दिदा हुलाक, आयोगको इमेल, फ्याक्स वा पैसा नलाग्ने टेलिफोन नम्बर १६६०१०००२० मा रेकर्ड गराएर  पनि दिन सकिने आयोगका सदस्य सुवेदीले बताउनु भयो । जेष्ठ नागरिक, अपाङ्गता भएका, यौनजन्य हिंसामा परेका र बालबालिकाकाका लागि उजुरी दिने सम्बन्धमा आयोगले विशेष व्यवस्था समेत गरेको छ । उजुरी कर्ताले आफ्नो सुरक्षाको व्यवस्था मिलाई दिन अनुरोध गरे उसलाई सुरक्षा समेत प्रदान गरिने सुवेदीले जानकारी दिनुभयो । आयोगले आगामी जेठ ५ गतेदेखि द्वन्द्वकालिन घटनामा छानविन थाल्ने छ ।

७३ जिल्लामा १७ हजार भन्दा बढी द्वन्द्व पीडित रहेको आयोगको अनुमान छ । तत्कालिन बिद्रोही नेकपा माओवादीले २०५२ सालमा थालेको शसस्त्र बिद्रोह देखि २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौतासम्म राज्य र विद्रोहीको तर्फबाट गम्भीर मानवअधिकार उल्लघन भएको घटनाको सत्य निरुपण गरी वास्तविकता जनसमक्ष ल्याउनु आयोगको मुख्य उद्देश्य हो । शान्ति सम्झौता भएको ८ वर्षपछि ०७१ साल माघ २७ गते पाँच सदस्यीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो ।